बैतडी। नेपाल-भारत सीमानाकाबाट विभिन्न किसिमका सङ्क्रामक रोग भित्रिन नदिन रोग नियन्त्रण महाशाखाको टोली झुलाघाट पुगेर हेल्थ डेस्कको निरीक्षण गरेको छ ।
महाशाखाका डा.हेमन्त ओझासहितको टोलीले झुलाघाटमा रहेको हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायसँग अभिमुखीकरणसमेत गरेको छ। कोरोना सङ्क्रमणका बेला भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भएको थियो । सो डेस्कले अहिले पनि भारतबाट नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण गर्दै आएको छ।
स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले भारतमा ‘मङ्किपक्स’ लगायत कोरोनाको नयाँ सङ्क्रमण देखिन थालेको समाचार आएकाले सङ्क्रमण भित्रिन नदिन अनुगमन तथा अभिमुखीकरण गरिएको बताए । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,भन्सार कार्यालयका कर्मचारी,गैरसरकारी संस्थाका पदाधिकारी,स्थानीय व्यापारी र नागरिक समाजका अगुवाको सहभागिता थियो। झुलाघाट सीमानाकाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशसम्म आवतजावत हुने गरेको छ । हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला सहमत भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।