कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बयस्क (भाले)गैंडा भारततर्फ प्रवेश गरेको दुई सातापछि फर्काइएको छ। निकुञ्ज क्षेत्रमा चरन क्षेत्र र घाँस सुक्न थालेपछि गैंडा भारततर्फ प्रवेश गरेको निकुञ्ज कर्मचारीहरु बताएका छन्।
मंसिर दोस्रो सातातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको भारत उत्तर प्रदेशको लखिमपुर जिल्लाको टाटरगञ्ज क्षेत्रमा गैंडा गहुँ र उखु चर्नका लागि गएको बताइएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले मंसिर १४ मा भारततर्फको बस्तीमा गएको गैंडालाई निकुञ्जमा फर्काउन झण्डै दुई साता लागेको बताए।
उतापट्टि गहुँ र उखु खान पाएपछि गैंडा फर्काउनै गाह्रो भएकोमा भारततर्फका वन विभागका कर्मचारीसँग समन्वयमा ‘दुई-दुई पटक हात्ती परिचालन गरेर मात्रै फर्काउन सम्भव भएको उनले बताए। वरिष्ठ संरक्षण अधिकृत भट्टराईले भने, मंसिर १७ मा दुई हात्ती र निकुञ्जका कर्मचारीले गैंडा फर्काएर ल्याए,उनले भने फेरि गैंडा बस्तीतिरै पस्यो । २६ गते फेरि ४ हात्ती परिचालन गरेर फर्काइएको उनले बताए। ३० नम्बर सीमा स्तम्भ क्षेत्रबाट गैंडा बस्तीमा पसेको थियो। उक्त क्षेत्रमा गैंडाको शिकार हुन सक्ने पनि जोखिम रहेकाले भारततर्फका वन विभागका कर्मचारीसँग पनि समन्वय गरिएको उनले बताए ।
हिउँदमा घाँस सुकेर आहारा खोज्दै गैंडालगायत वन्यजन्तु बस्ती तर्फ पस्न गरेका छन्। यसैगरी गैंडाहरु आपसमै जुँधेर पनि भाग्दै बस्तीसम्म पुग्ने गरेको वन कर्मचारीहरुले बताएका छन् । यस्तो अवस्थामा समयमै निकुञ्जमा फर्काउन नसके शिकार हुने तथा आक्रमण हुने जोखिम रहने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइको भनाई छ। शुक्लाफाँटामा २०१० मा गैंडाको संख्या १० पुगेको थियो। २०२१ को राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या १७ पुगेको थियो। पछिल्लो गणना अनुसार गैंडाको संख्या २० भेटिएको निकुञ्जले जनाएको छ। निकुञ्जमा गैंडासँगै बाघ र कृष्णसारको संख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ पुगेको छ। एकातर्फ संरक्षित क्षेत्रमा वन्यजन्तुको संख्या बढ्दै जानु र अर्कोतर्फ निकुञ्जकै कोर एरियामा बस्ती हुँदा समेत वन्यजन्तुको चरीचरणमा समस्या देखिन थालिएको छ।