धनगढी। एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा छैठौं फारवेष्ट पशुपति कप २०८० धनगढी रंगशालामा सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी क्वाटरफाईनल प्रवेश गरेको छ। उद्घाटन खेलमा पुर्नवास नगरपालिका खेलकुद विकास समितिलाई २–० ले किनारा लगाउँदै स्टार सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो ।स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुवेर सिंहले एक एक गोल गरे । विनोदले दोस्रो हाफको ५ मिनेटमा गोल गर्दै अग्रता दिलाए। अतिरिक्त समयमा कुवेर दोस्रो गोल गर्दै स्टार सिटीलाई जित दिलाए ।
खेलमा एक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका स्टार सिटीका कप्तान कुवेर सिंह नै म्यान अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।प्रतियोगिता अन्तर्गत भोली शनिवार पहिलो खेल ईलाईट युवा क्लब र अलस्टार स्पोर्टस एकेडेमी तथा दोस्रो खेल टेकवहादुर चोखाल फाउण्डेसन र घोडाघोडी क्लब बीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ।
यसअघि प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साँवदले उद्घाटन गरेका थिए। फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको उदघाटन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुराएका चार जनालाई सम्मानित गरिएको छ। शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै शिवहरी मुडभरी, स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेल, खेल क्षेत्रमा योगदान पुराएको भन्दै फुटबल प्रशिक्षक लालवहादुर खड्का र समाज सेवा तथा रक्तदान गरी योगदान पुराएको भन्दै पत्रकार दिपक उपाध्याय नेपाललाई सम्मान गरिएको हो।