धनगढी। सामाजिक सञ्जाल फेसबुकमा एक जना प्रहरी हवल्दारमाथि केही व्यक्तिले हातपात गरेको भिडियो भाइरल भइरहेको छ। नेपाल प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि हातपात भइरहेको भिडियो कैलालीको गौरीफन्टा नाकाको भएको खुलेको छ।
भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पुष्टि गरे । ३ पुसमा भुल उपचारका लागि भारत गइरहेका भाइलाई गाडीसम्म पुगाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमीमा प्रवेश गरेका थिए ।
सोही क्रममा उनीमाथि भारतीय व्यक्तिले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ। सुरुमा गालामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’ डाँगीले भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’प्रहरी हवलदार भुललाई कुनै चोटपटक नलागेको डाँगीले बताए।
उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो । ‘भुलमाथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पियुस गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । भुलका चिनजानकै उनी युटुबर समेत हुन् । ‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जनाबीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन,’ प्रहरी स्रोतको भनाइ । पुख्र्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ । भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।