धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
डा. केसीले गएको शुक्रबारबाट तीन दिनका लागि अनसन थालेका थिए। अनसन तोड्दै उनले सुदूरपश्चिमका जनताको सहज स्वास्थ्योपचारका लागि आफूले अनसन बसेको बताए । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पढाइ र दक्ष जनशक्ति उत्पादनका लागि आफूले यो लडाइ लडिरहेको स्पष्ट पार्दै उनले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुमा आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारे।
“मैले यहाँकै जनताको सुलभ रूपमा स्वास्थ्योपचारका लागि अनसन बसेको हो । यसमा मेरो आफ्नो कुनै स्वार्थ छैन” केसीले भने, “यसका लागि म लडिरहनेछु । कोही कसैसँग डराउने वाला छैन ।” अनसन तोडेका डा। केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।