धनगढी। राष्ट्रिय खेलाडी तक्की खानको निधन भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका ८० वर्षीय तक्की खानको सोमबार राति निधन भएको हो।
धनगढीको त्रिनगर स्कुलमा ५ सम्म अध्ययन गरेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए। सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक थिए। उनले काठमाण्डौमा समेत पुर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएका थिए।
त्यहीबाट भारत्तोलन खेल्न सुरु गरेका तक्की खानले देशभर बिभिन्न ठाँउमा भएका खेलमा ४५ भन्दा बढी पदक जितेका थिए। उनले नेपालबाट भारत्तोलन खेल्न बंगलादेश पनि पुगेका थिए। उनले नेपाली चलचित्रमा खलनायको भूमिका पनि निर्वाह गरेका थिए। उनले महानायक राजेश हमालदेखि विराज भट्ट बलिउडका चर्चित नायिका खुस्बुसम्म सँगै पनि काम गरेका थिए।
खलनायकको भूमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन्। भारतीय नायिका खुस्बुसँग अभिनय गरेको फिल्म चाहि ‘भुल नही जाना’ रहेछ। अग्लो र मोटो जिउ, लामो कपाल भएका तक्की खान केहि वर्ष अत्तरिया धनगढी लगायतका बसपार्कहरुमा भेटिने गरेका थिए। युवा उमेरमा अभिनय, खेलाडी र डोजर चालकको काम गरेका तक्की बुढेसकालमा भने बसपार्कहरुमा सवारी चालकसँग पैसा मागेर खाने गरेका थिए।