कञ्चनपुर। कञ्चनपुरमा एक जना पुरुषमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ। मरणाशन्न हुने गरी कुटपिट भएपछि कञ्चनपुरवेदकोट नगरपालिका–१ आमथलाका हर्क खडायतको परिवार न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगेको छ।
गत कात्तिक २८ गते राति लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट हर्क खडायत गम्भीर घाइते भई अचेत अवस्थामा रहेका छन्। उनको परिवार हर्कको लागि न्याय खोज्दै आज शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगेको हो। घटनाको भोलिपल्ट अर्थात् कात्तिक २९ गते बिहान उपचारका लागि भारतको रुद्रपुर र त्यसपछि देहरादुन लगिएकोमा २० लाख भारु खर्च भैसक्दा अवस्थामा सुधार नआएको उनका भाइ प्रेम खडायतले बताए।
प्रहरीले कुटपिट गर्नेलाई अहिलेसम्म पक्राउ नगरेको र न्याय पाउनुपर्ने भन्दै अचेत अवस्थाका खडायतलाई प्रहरी कार्यालयमै लगेका थिए । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले पीडितको जाहेरीको आधारमा अनुसन्धान भइरहेको बताए। पीडित परिवारले ५ जना विरुद्ध किटानी जाहेरी दिएको र जस मध्ये जाहेरीमा परेका चक्र बोहरा भने पक्राउ परिसकेको बताए। यस्तै अन्य कुटपिट गर्ने सोही ठाउँका उद्धव बोहरा,लोक बोहरा,द्वर्ण बोहरा,लोक बोहराको खोजी भइरहेको बताइएको छ।पीडित परिवारले अहिले अचेत रहेका खडायतलाई आर्मी अस्पताल धनगढी लगेका छन् ।