बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य शुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य शनिबारदेखि शुरु भएको हो । शनिबार एक कार्यक्रमकाबीच पञ्चेश्वर गाउँपालिका ४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन् । अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ ।
यो भन्दा पहिला गाउँपालिकाको वडा नं ३ कुलाउमा अस्पताल निर्माण गर्ने भन्दै मन्त्रालयले बजेट छुट्याएको थियो । गाउँपालिका केन्द्र बाहिर आधारभूत अस्पताल निर्माण हुने कुरामा स्थानीयहरुले विरोध जनाएपछि अस्पताल निर्माणको काम रोकिएको थियो । आमचोरमा अस्पताल निर्माण गर्ने सहमति भएपछि अस्पताल निर्माणको काम अघि बढेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने अध्यक्ष चन्दले बताए । गाउँपालिकाले अस्पतालका लागि हरेक बर्ष बजेट विनियोजन गर्ने सहमति भएको गाउँपालिकाका प्रवक्ता जनकबहादुर चन्दले बताए ।