कैलाली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन्। धनगढी वडा नम्बर १ स्थीत सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्। त्यसभन्दा पहिला
उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका- १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन्। त्यसपछि प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन दिउसो २ बजे गर्ने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए।
सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिको उद्देश्यसहित सञ्चालन हुँदै आएको महोत्सवमार्फत सरकारसमक्ष विकासका विभिन्न माग प्रस्तुत हुँदै आएको छ।पहिलो पटक २०६३ सालमा सुदूरपश्चिमको विकासका सवाल समेटेर २१ बुँदे माग सहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको माला लगाइएको थियो।
यस पटक १० वटा मागको प्रतिकका रूपमा प्रमुख अतिथीलाई १० किलोको माला लगाइने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले बताए। उनले कलाकारको प्रस्तुती, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा चार सय स्टल रहेको बताए।महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ।