कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ परेका छन्। कञ्चनपुर प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–४ बैवाह कालिपुलियाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलीग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका–५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाटा नगरपालिका–११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साईकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी कञ्चनपुरकै बेलौरी नगरपालिका–७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७७ मिलिग्रामसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका-२ गोकुलपुर बस्ने २८ वर्षीय मंगल चौधरी रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००७ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।