धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ। आज मंगलबार काठमाण्डौमा इजरायलमा वेपत्ता विपिनका बारेमा छलफल गर्न भेटबार्ता गरेका हुन्।
यस्तै मुख्यमन्त्री शाहले भेटको क्रममा इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरुप राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन्।मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेका छन्। लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो।
हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको अवस्था अझै पनि अज्ञात छ। हमासले बेपत्ता बनाएको जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेका छन्। यस्तै भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले आगामी फागुन २३ र २४ गते प्रदेश लगानी तथा विकास सम्मेलन गर्न गइरहेको राजदूत हनान गोडरलाई जानकारी गराएका छन्। लगानी तथा विकास सम्मेलनलाई इजरायली सरकारको साथ, समर्थन रहने राजदूतले प्रतिबद्धता जनाएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।