काठमाडौँ। युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन्। मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की,दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए।
दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो। थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए। यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ।
रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ। थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए। रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।
परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन। रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसबारे परराष्ट्र, गृह र रक्षा मन्त्रालयको नेतृत्वसँग चासो राखेका छन्।