धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका निजी अस्पतालहरूले विपन्न, असहाय, वेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा दिन सम्झौता गरेका छन्। मंगलबार धनगढी उपमहानगरपालिका र निजी अस्पताल बीच विपन्न, असहाय, वेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा दिन सम्झौता भएको हो ।
मंसिर २५ गते देखि लागू हुने उक्त सम्झौता अनुसार अब देखि धनगढी उपमहानगरपालिका भित्र रहेको निजी अस्पतालहरूले चिकित्सक परामर्श सेवा, नर्सिङ सेवा, अक्सिजन सेवा, रेडियोलोजी सेवा, प्याथोलोजी सेवा र सम्पूर्ण औषधीमा १० प्रतिशत छुट दिनु पर्ने छ ।उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र निजी अस्पतालहरूको संगठन अफिन सुदूरपश्चिमका अध्यक्ष तीर्थ राज पन्तद्धारा हस्ताक्षरित सम्झौतामा दश प्रतिशत शैयामा ‘निशुल्क शैया’ भनी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै सम्झौतामा अस्पतालमा निःशुल्क उपचार सेवा दिएका बिरामीहरूको कुल खर्च रकम सहितको सम्पूर्ण विवरण दैनिक रुपमा सार्वजनिक गरिनुपर्ने, मासिक रुपमा निःशुल्क सेवा प्रदान गरेका बिरामीहरूको प्रतिवेदन धनगढी उपमहानगरपालिकामा पेश गरिनुपर्ने व्यवस्था गरिएको छ ।
लक्षित बिरामीले निजी अस्पतालहरूबाट निःशुल्क सेवा लिनको लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । वडाको सिफारिसका आधारमा धनगढी उपमहानगरपालिकाबाट अस्पताललाई निःशुल्क उपचार गराइदिने पत्र लगी निःशुल्क सेवा पाउन सकिने छ । आकस्मिक सेवाका हकमा भने लक्षित वर्गलाई सिफारिस नभएपनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गरि थप उपचारका लागि सिफारिस माग गर्नुपर्ने छ। धनगढी उपमहानगरपालिकाले यसअघि कार्तिक १५ गते धनगढीका १० वटा निजी अस्पताललाई पत्राचार गरी विपन्न, असहाय, वेवारिसे बिरामीका लागि १० प्रतिशत शैय्या छुट्याउन ताकेता गरेको थियो।