काठमाडौँ। नेपाल सरकारले गाजा क्षेत्रमा इजरायल र हमास समूहबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि आग्रह गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी गाजामा बन्दीहरूको रिहाइ तथा मानवीय सामग्रीको आपूर्तिका लागि मार्गप्रशस्त गर्ने सम्झौताको स्वागत गरेको हो।
नेपालले यो सम्झौतामा पुग्न प्रयास गरेका कतार, अमेरिका र इजिप्टको प्रशंसा गरेको छ । ‘नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि नेपाल सरकार आह्वान दोहोर्याउन चाहन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कञ्चनपुरका जोशी २० असोजदेखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार नेपालका लागि इजरायलका राजदूत हनान गोदरसँग जोशीलाई पहिलो चरणमै रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका छन् । पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जनालाई मुक्त गर्ने सहमतिअनुसार जोशीलाई पनि त्यही सूचीमा राख्न परराष्ट्रमन्त्रीले अनुरोध गरेका छन् । ‘परराष्ट्रमन्त्रीले उपलब्ध सबै कूटनीतिक च्यानलहरूमार्फत विपिन जोशीको सकुशल रिहाइका लागि प्रयास जारी राख्नुभएको छ । यही सिलसिलामा इजरायलका राजदूतलाई बोलाएर छलफल भएको हो,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले भने ।
परराष्ट्रमन्त्री साउदले शुक्रबार कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखीसँग पनि जोशीको रिहाइका विषयमा चासो राख्नेछन् ।कतारी राज्यमन्त्री मुराइखी बिहीबार नेपाल आएका छन् । यसअघि कतारका राजाको नेपाल भ्रमणको तयारी भएकोमा इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण उनको भ्रमण पछि सरेको थियो । परराष्ट्रमन्त्री साउदले यसअघि पनि कतारी राज्यमन्त्रीलाई जोशीको रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका थिए ।
प्यालेस्टाइनको हमास समूहसँग कतार, इजिप्ट र इरानको राम्रो सम्बन्ध छ ।कतारी राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्दै छन् भने उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक वार्ता गर्दै छन् । ‘कतारका राज्यमन्त्रीसँग सबै भेटहरूको पहिलो एजेन्डा विपिन जोशीको रिहाइ हुन्छ । दोस्रो एजेन्डा कतारका राजाको नेपाल भ्रमण हुनेछ,’ परराष्ट्र स्रोतले भन्यो ।