धनगढी। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले बझाङका भूकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। महासंघले असोज १६ गते बझाङ्ग जिल्लाको चैनपुर केन्द्रबिन्दु बनाइ आएको विनासकारी भूकम्पबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको हो ।
जिल्लाको थलारा गाउँपालिका क्षेत्र भित्रका मुक्त हलिया र दलित समुदायका व्यक्तिहरुलाई एक्सन एड ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले राहत सामग्री सहयोग गरेको महासंघका महासचिव मंगलबहादुर सार्कीले जानकारी दिए। उनले जिल्ला विपद व्यवस्थापन समिति र थलारा गाउँपालिकासँगको समन्वयमा राहत वितरण गरिएको बताए।
थलारा गाउँपालिकाका ९ वटै वडाबाट छनौट भएर आएका दुई सय जनामध्ये आपतकालिन आश्रय सहयोग अन्तरगत दुई सय परिवारलाई त्रिपाल र म्याट, १ सय ५० परिवारलाई न्यानो लुगा, १ सय २८ परिवारलाई भाँडाकुँडा, ७७ परिवारलाई सरसफाई सामग्री र १ सय २५ परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक हरिसिँह बोहराले बताए।थलारा गाउँपालिलकाका ९ वटै वडाका अति विपन्न मुक्त हलिया, दलित, अपांगता भएका व्यक्ति, एकल महिला र जेष्ठ नागरिकलाई गाउँपालिकासँगको समन्वय र वडा कार्यालयको सिफारिसका आधारमा राहत सहयोग गरिएको निर्देशक बोहराले बताए। राहत सहयोग पाएपछि भूकम्प प्रभावित परिवारहरुले आफूहरुको आलो घाउमा मलमपट्टी लगाएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिएका थिए।
राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, सहयोगी संस्था एक्सनएड नेपालका प्रतिनिधिहरु,सुरक्षाकर्मी, स्वयंसेवक र हलिया महासंघका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । राहत हस्तान्तरण कार्यक्रममा बोल्दैै थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले राहत सहयोग गर्ने संस्थाहरु एक्सनएड नेपाल र हलिया महासंघलाई मानवीय कार्यमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्दै प्राप्त भएको राहतको भरपुर उपयोग गर्न लाभग्राहीलाई अनुरोध गरेका थिए।
संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले प्राकृतिक विपदको बेला आपतकालिन मानवीय सहयोगमा प्रत्यक्ष संलग्न भई सहयोग गर्ने सहयोगी संस्था एक्सनएड नेपाल, थलारा गाउँपालिका, वडा कार्यालय, सुरक्षा निकाय, स्वयंसेवक, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।