कञ्चनपुर। कञ्चनपुरमा धाक धम्कि देखाई रुपैँया (रकम) माग्ने २ जना पक्राउ परेका छन्। कञ्चनपुर जिल्लामा सर्बसाधारण तथा ब्यापारीहरुलाई डर त्रास देखाई ज्यान मार्ने सम्मको धम्कि, फोन तथा म्यासेज मार्फत रकम माग गर्ने २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले कञ्चनपुरको जिल्लाको वेदकोट नगरपालिका ७ लालपुर नजिक रहेको पेट्रोल पम्प नजिकबाट दार्चुला लेकम गाउँपालीका १ घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालीका ३ का २६ वर्षीय नरेश साँउद र बैतडी दोगडाकेदार गाउँपालीका ७ घर भई हाल कञ्चनपुर भिमदत्त ४ बसपार्क पछाडी डेरा गरी बस्ने ४७ वर्षीय चन्द्र देब जोशीलाई पक्राउ परेको हो।
विगत केहि समयदेखि कञ्चनपुरमा डर त्रास देखाई ज्यान मार्ने सम्मको धम्कि फोन तथा म्यासेज मार्फत दिई रकम माग गर्ने गरेको बिषेश सुचनाको आधारमा प्रहरी टोलीले आज मङ्गलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।बिभिन्न समयमा महेन्द्रनगर बजारमा रहेका बिभिन्न होटल संचालक, साईकल पसल, किराना पसल, कैलालीको चिशापानीमा रहेको होटल व्यवसायीहरु, लगायतका व्यापारीहरुलाई पार्टीको मान्छे हौँ, भन्ने तर पार्टीको नाम नखुलाएर डर त्रास धम्की देखाई रकमको माग गर्ने गरेको उनले बताए।
फोन र म्यासेजबाट ज्यान मार्ने धम्की पनि दिने गरेको र पिडितहरुले दिएको जानकारीका आधारमा उनिहरुलाई पक्राउ गरिएको उनले बताए ।आरोपित २ जनाले ५ लाख रुपैँया सम्म माग गरेको अनुसन्धानबाट खुलेको र पिडितले ५ लाख दिन नसक्दा ३ लाखमा कुरा मिलेपछि रकम लिन आउँदा दुवैजनालाई पक्राउ गरिएको एसपी थापाले बताए। दुवै जनाको कोठामा खान तलासी गर्दा बिभिन्न कम्पनीका ६ वटा सिमकार्ड ३ थान मोवाईल, खुकुरी १ थान, चक्कु २ थान, रकम माग गर्ने व्यक्तीहरुको फोन नम्वर लेखिएका कागजातहरु १ थान नागरिकता, र चन्द्रदेव जोशीले प्रयोग गरेको मोटरसाईकल १ थान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।