काठमाण्डौ। फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । समूह ुएचू मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।
फिफा वरीयतामा यमन १ सय ५६ औँ र नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि गएको बिहीवार दुबईमा भएको पहिलो खेलमा समूहकै सबैभन्दा बलियो टोली यूएईसँग नेपाल ४–० गोलले पराजित भएको थियोयमन पनि पहिलो खेलमा घरेलु मैदानमा बहराइनसँग २–० गोलले पराजित भएको थियो । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनसँगको खेलका लागि टोली तयार रहेको र जितकै लागि खेल्ने बताएका छन् ।
कप्तान किरणकुमार लिम्बुले यूएईसँगको हारलाई बिर्सेर अघि बढ्नुपर्ने र त्यसैअनुसार यमनसँग खेलका लागि उत्साहित रहेको बताए । उनले घरेलु मैदानमा समर्थकको उत्तिकै साथ रहने पनि बताए । नेपाल र यमनबीच आज हुने खेलका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
नेपाल र यमनले अहिलेसम्म चार खेल खेलेका छन् । तर नेपालले यमनलाई हराउन सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उपलब्धि हो ।एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २–१ गोलले पराजित भएको थियो । त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३–० गोलले र सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको थियो ।
नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह एचमा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्व कप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।