धनगढी। धनगढीको मोहना छठी घाटमा छठ पूजाको तयारी पूरा भएको छ। धनगढी मोहना छठी घाटमा छठ पूजा समितिले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो।
मोहना छठी घाटलाई सजाउने र पूजाका सबै तयारी पूरा भएको छठ पूजा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए। षष्ठी तिथिमा अस्ताउँदो र सप्तमी तिथिको दिन उदाउँदै गरेको सूर्यको पूजा गरेर मनाइने पर्व छठी धनगढी मोहना घाटमा आयोजना हुने गर्छ। आइतवार अस्ताउँदो र सोमवार उदाउँदो सूर्यदेवको आराधना गरेर मनाइने छठ पूजाको तयारी छ।
छ्ठ पुजाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने आयोजकले जनाएको छ। छठ पूजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहना घाटमा पुजा कार्यक्रम हुँदै आएको छ। छठी पूजाको परम्परा महाभारतकालदेखि सुरु भएको विश्वास गरिन्छ।यो वर्ष एक लाख भन्दा बढी भक्तालुले मोहना घाटमा आएर छठ पूजा गर्ने छठ पूजा समितिका अध्यक्ष मण्डलले बताए। सूर्य पुत्र कर्णले भगवान् सूर्यलाई हरेक बिहान जलमा उभिएर अर्घ्य दिन्थे भन्ने कुरा महाभारतमा वर्णन गरिएको छ। यस्तै, भगवान रामको रावणमाथि विजय पश्चात् रामराज्य स्थापनार्थ कात्तिक शुक्ल षष्ठीको दिन सूर्यदेवको आराधना गरेको विश्वास गरिन्छ। पाण्डव पत्नी द्रौपदीले पनि आफ्नो परिवारको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य देवताको पूजा गरेको विश्वास गरिन्छ। सूर्यदेवताको यहीँ पूजा कालान्तरमा छठ पर्वका रूपमा मनाउन थालिएको मैथिली समुदायमा विश्वास गरिन्छ।
छठ पर्व पूर्ण रूपले कृषि उत्पादनसँग सम्बन्धित पर्व हो। यो पर्वमा स्थानीय उत्पादन, सीप र संस्कारको सम्मिश्रण पाइन्छ। स्थानीय समुदायले हातबाट बनाएका बाँसको नाङ्लो, कनसुप्ती,माटोबाट बनाइएका सामग्रीहरू, ढकना, सरबा र दियोजस्ता सामग्रीको प्रयोग छठ पूजामा हुने गरेको छ। धनगढीमा छठ पर्व मनाउनेको सङ्ख्या हरेक वर्ष बढ्ने गरेको छ। छठ पर्वमा उदाउँदो र अस्ताउँदै गरेको सूर्यलाई एउटै आस्था र निष्ठाका साथ पूजा गरिन्छ।