काठमाडौं।भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ।
हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ। भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ। यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका र माला लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
कुन-कुन रंगका टीका लगाउने ? – जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका‘।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन्।तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् । तर कतैकतै परम्पराअनुसार सात रंगका (सप्तरंगी) टीका लगाइदिने चलन पनि छ ।
यस्तो छ भाइटीकाको विधि- दिदीबहिनी र दाजुभाइ मिलेर पूजा सामग्री तयार गर्छन् । पूजा सामग्रीमा कलश, दियो, गणेश, ओखर, तोरीको तेल, बिमिरो, फूलमाला, दूबो, लावा, आदि तयार गरिन्छ । त्यसपछि भाइटीका लगाउन सुरु गर्नुअघि केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेशसँगै बिमिरोलाई राखेर दिदीबहिनीहरुले पूजा गर्नुपर्छ ।
मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।त्यसपछि दाजुभाइको चिरञ्जिवी र मंगल कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन छ ।दाजुभाइ टीका लगाउन बसेको आसन वरिपरि पानी र तेलको सात घेराले छेकेर दाजुभाइलाई फूल, अक्षता, लाभा आदिले पूजा गर्ने, कपालमा तेल लगाइदिने आदि गरिन्छ ।
त्यसपछि टीका लगाइदिन सुरु हुन्छ । हिन्दू धर्मशास्त्रमा टीका लगाइदिँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ । यद्यपि नेपालका विभिन्न स्थानमा सातवटा रंगको टीका लगादिने चलन छ ।टीका लगाइदिइसकेपछि मखमली, सयपत्री, गोदावरीलगायतका फूलको वा दुबोका माला लगाइदिने गरिन्छ । तिहारमा मखमली, दूबो र सयपत्री मालाको विशेष महत्व छ । मखमली कहिल्यै नओइलाउने, दूबो सधैं हरियो रहिरहने र सयपत्रीको रंग कहिल्यै नउड्ने भएकाले भाइटीकामा तिनै मालाको प्रयोग गर्ने चलन छ ।
दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिइसकेपछि दाजुभाइले दिदीबहिनीहरुलाई टीका लगाइदिनुपर्छ र दक्षिणा, उपहार आदि साटासाट गरिन्छ ।त्यसपछि दिदीबहिनीहरुले सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा–टुक्रा भएर नास हुने विश्वास छ । भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने साझा छ । भाइटीकाको दिनले दिदीबहिनी र दाजुभाइबीच आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउने र अटल सौभाग्य तथा ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।