धनगढी। दार्चुलामा जात्राको रौनक निकै छाएको छ। जिल्लाको लेकम लगायतका विभिन्न क्षेत्रका शक्ति पीठहरूमा आज (बुधवार) देखि जात्रा हुने भएपछि लहर छाएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल द्धित्तिया तिथि आर्थात भाइटिकाको दिनबाट लेकम, मालिकार्जुन क्षेत्रका मठ मन्दिरहरूमा जात्रा सुरु हुने गरेको छ ।
कार्तिक शुक्ल द्धित्तिया तिथिबाट सुरु हुने शक्ति पीठहरूको जात्रा भोलिदेखि सुरु हुने स्थानीय संस्कृतिका जानकारहरूले बताएका छन् । जात्रा सुरु हुने पहिलो दिन भोली कार्तिक २९ गते मालिकार्जुन गाउँपालिका- ३ स्थित कैलपाल लटीनाथ मन्दिर चौड र शैल्यशिखर नगरपालिका- ७ स्थित बोहरीगाउँमा रहेको लटीनाथ मन्दिर बन्तोलीमा जात्रा लागेसँगै लेकम क्षेत्रमा जात्राको लहर सुरु छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्धित्तिया तिथिबाट सुरु हुने बन्तोली जात्रालाई सुरुवाती जात्रा मान्ने गरिन्छ । लेकम गाउँपालिका-२ स्थित कुणी भगवती जात्रा, शैल्यशिखर–८ झरकडामा रहेको गलैनाथ जात्रा तथा लेकम–४ खरकडाको पातिमा रहेको मन्दिरमा लाग्ने पूर्णिमाको जात्रालाई समापन जात्राको रूपमा लिने गरिन्छ। कार्तिक शुक्ल द्धित्तिया देखि सुरु भई पूर्णिमासम्म विभिन्न तिथि, मितिमा जात्रा लाग्ने गरेको छ।
मालिकार्जन गाउँपालिका- ८ को शंकरपुरमा मंसिर ३ गते सप्तमी तिथिका दिन जात्रा लाग्नेछ । मालिकार्जुनकै वडा नम्बर -४ हुनै नाथ मन्दिर औता लेक, लेकम गाउँपालिका वडा नम्बर १ धुरामा अवस्थित हुनै नाथ मन्दिर, वडा नम्बर २ कुणीमा अवस्थित हुनै नाथ मन्दिर र मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा अवस्थित भगवती मन्दिरमा मंसिर ४ गते अष्टमीका दिन जात्रा लाग्ने भएको छ ।त्यस्तै, महाकाली नगरपालिका-८ असिगडाको भगवती मन्दिर र लेकम गाउँपालिका-५ को टलिनाथ जैपुर मन्दिरमा मंसिर ५ गते नवमी तिथिमा जात्रा लाग्नेछ।
जैपुरको जात्रालाई श्रद्धालु भक्तजनहरू तथा दर्शनार्थीहरुले विशेष महत्वको साथ हेर्ने गरेको पाइन्छ ।मालिकार्जुन गाउँपालिका-३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिरमा मंसिर १० गते चतुर्दशी तिथिमा जात्रा लाग्ने भएको छ । जुन लेकम क्षेत्रकै ठुला जात्रा हुने भएकाले मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई ठुली जात्राको नामले पनि चिनिन्छ। चतुर्दशीकै दिन लेकमको उचाकोट र भगवती मन्दिर कुणीमा पनि जात्रा लाग्ने गरेको छ । त्यस्तै लेकम गाउँपालिका वडा नम्बर( ४ खरकडाको पातीमा रहेको मन्दिरमा मंसिर ११ गते पूर्णिमा तिथिका दिन अन्तिम जात्रा लाग्ने भएको छ।
जात्राको सुरक्षा व्यवस्था कस्तो छ ?
भोली राती लाग्ने मालिकार्जुन गाउँपालिका-३ मा रहेको कैलपाल मन्दिर चौड तथा शैल्यशिखर नगरपालिका- ७ स्थित बन्तोली जात्राको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । दार्चुलाका विभिन्न मन्दिरहरूमा जात्रा लाग्ने भएकाले सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्रामा आपराधिक घटनाहरू हुन नदिन सादा पोशाकमा समेत प्रहरी खटाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
उनका अनुसार बन्तोली क्षेत्रमा लाग्ने जात्राका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना तथा अन्य प्रहरी युनिटहरूबाट प्रहरी टोली खटाउने तयारी भएको छ । मालिकार्जुन गाउँपालिका ९३ स्थित कैलपाल मन्दिर चौडमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मदनसिंह धामीको कमान्डमा ५३ जना सुरक्षाकर्मी खटाउने तयारी भएको प्रहरी नायब उपरीक्षक एवम् ९डिएसपी० शिवबहादुर सिंहले जानकारी दिए ।
जात्राको समयमा हुन सक्ने जाँडरक्सी ,क्षमता भन्दा बढी यात्रु ओसार पोसार तथा जुवा तास नियन्त्रणका लागि प्रहरीले निगरानी बढाउने जनाएको छ ।कहिँकतै जुवा तास खेलेको तथा खेलाइएको पाइएमा तत्काल उनीहरूलाई कानुन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।यस्तै जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नागरिक सहायता कक्ष र यात्रु सहायता कक्षबाट पनि प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।