दार्चुला। दार्चुलामा खलंगाको सिमा पुलको खुल्ने समय एक घण्टा छोट्याइएको छ। भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका –४ खलंगास्थित झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको हो।
आजदेखि विहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।यसअघि बिहान ६ बजे खुलेर वेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उनको भनाइ छ।
उनकाअनुसार दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको हो। ग्रीष्मकालिन समयमा यो नाका बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेको छ। शीतकालिन समयमा छिटै अध्याँरो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको हो।