कञ्चनपुर। कञ्चनपुरको एक सहकारीमा चोरी भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट रुपैँया चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।
कार्तिक २२ गते राती उक्त सहकारीबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो। चोरीको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए।
दुवैजनालाई हिजो (शनिवार)भीमदत्त नगरपालिका-४ मदनचोकबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको इन्चार्ज प्रहरी निरीक्षक चौधरीले बताए। पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।