धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएका पुरुषका आफन्तले शव बुझेका छन्। प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर उपचारका क्रममा मृत्यु भएका ३१ वर्षीय कृष्ण सेट्टीको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले सेट्टीको शव परीक्षणपछि शुक्रबार आफन्तले शव बुझेको जानकारी दिए। उनकाअनुसार मृत्युको घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन्। सेट्टीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
यसअघि मृतकका दाजु गणेश सेट्टीले कृष्णको मृत्यु नभई ‘हत्या’ भएको आरोप लगाउँदै आफन्तले घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर नल्याएसम्म शवको पोष्टमार्टम समेत गर्न नदिने माग गरेका थिए । तर डीएसपी चन्दले सो बारेमा प्रहरीमा कुनै जानकारी नआएको बताए । उनले भने,सेट्टीको शव परीक्षणपछि आफन्तले शव बुझीसकेको बताए।
सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो। बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले मदिरा चोरी गरेको निहुँमा थापामाथि कुटपिट गरेका थिए। कुटपिटपछि थापाको मृत्यु भएको थियो।