काठमाडौँ। चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स ३० प्रतिशतले बढी हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भने यो साउन,भदौ र असोजमा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ। जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २५.९ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ कायम भएको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९ हजार २९७ कायम भएको छ।