बाजुरा। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले जिल्लाका १ सय २५ जना भूकम्प पीडित स्थानीयको अस्थायी आवास निर्माण गरिदिने भएको छ।
गत असोज १६ गते बझाङको तलकोट र चैनपुर आसपास केन्द्र विन्दु भएर गएको भूकम्पका कारण बाजुरामा करिब १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए। भूकम्पका कारण पूर्ण रुपमा घर भत्किएर घरविहीन भएका बुढीगंगा तथा त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदहका १ सय २५ परिवारलाई शौचालय सहितको अस्थायी आवास बनाउन नगद ५० हजार सहयोग गरिने रेडक्रस बाजुरा शाखाले जनाएको छ।
बिहीबार रेडक्रस बाजुराको बैठकले १ सय २५ जनाको अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्नुका साथै भूकम्प प्रभावित ३ सय परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका मन्त्री टङ्क न्यौपानेले बताए।