धनगढी। धनगढी उपमहानगरपालिकाका निजी स्रोतका शिक्षकहरू चार दिनदेखि धर्नामा छन्। आन्तरिक सामान्य प्रक्रिया अपनाई सबै शिक्षकलाई व्यवस्थापन गरिनुपर्ने भन्दै सामुदायिक विद्यालय निजी स्रोतका शिक्षकहरू चार दिनदेखि आन्दोलित भएका हुन्।
उपमहानगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गर्दा निजी स्रोतका शिक्षकहरूको व्यवस्थापनमा ध्यान नदिएको उनीहरूको आरोप छ। लामो समय देखी सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुलाई बिद्यालय समायोजन र दरबन्दी मिलान गर्ने नाममा उपमहानगरले निजी श्रोतका शिक्षकहरु बिस्थापित गर्ने योजना बनाएको बताएका छन्।
उनीहरूले स्वच्छिक अवकासमा जान चाहने शिक्षकहरूलाई सुहाउँदो उपदानको व्यवस्था गरिनुपर्ने समेत माग गरेका छन्। विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गर्दा निजी स्रोतका शिक्षकहरूको व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान नदिएकोले आफूहरू धर्नामा बसेको आन्दोलन परिचालन समितिका संयोजक हर्कदेव ढाँटले जानकारी दिए।
लामो समय शिक्षामा योगदान पुर्याएका निजी स्रोतका शिक्षकहरूलाई शैक्षिक सत्रको बीचमा बेरोजगार बनाउने कार्य उपमहानगरपालिकाबाट भइरहेको उनको भनाइ छ। न्युनतम पारिश्रमिकमा काम गरिरहेका शिक्षकहरुलाई सेवा र सुबिधा बढाउनुको साटो उपमहानगरपालीकाले यस्तो निर्णय गर्न नहुने निजी श्रोत शिक्षक संघर्ष समिती धनगढी नगर अध्यक्ष बालाराम जोशीको भनाई छ। जायज मागका लागी हामी कार्तिक २१ गते देखी निरन्तर आन्दोलनमा रहेको उनले जानकारी दिए। साथै शुभदीपावलीको अवसरमा सरकारी कार्यालय बन्द रहने भएकाले मंसिर ३ गतेसम्मलाई आन्दोलन स्थगन गर्दै त्यसपछि आन्दोलन निरन्तर अघि बढ्ने उनको भनाई छ।
लामो समय देखी बिद्यालयमा नै जिवन बिताइरहेका निजी श्रोतका शिक्षकहरु बिस्थापित गर्दा रोजीरोटी नै गुम्ने बेहडाबाबा आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम भट्टले बताए। राहात, अस्थाई शिक्षकहरुलाई स्थायि गर्नुपर्ने र योग्यता, क्षमतासरह तलब तथा सेवा सुबिधा दिनुपर्ने भन्दै उपमहानगरपालीकाले ध्यान दिनुपर्ने उनको माग छ। दरबन्दी मिलानमा बिगत र अहिलेका शिक्षकहरुलाई बिभेद नगरी उनीहरुको भावना अनुसार उपमहानगरपालीका गम्भिर बन्नुपर्ने बताएका छन्। धनगढीमा निजी स्रोतमा एक सय २४ जना शिक्षकहरू कार्यरत छन्।