बाजुरा। बाजुरामा आज मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए। गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ।
यता, गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ । शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ। त्यसयता मंगलबार बिहान साढे ११ बजेसम्म जाजरकोटमा ४४४ परकम्प मापन भइसकेको उनले बताए ।केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।