काठमाडौँ। ओमानले रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ। पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो। ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो। जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके। पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो । यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए।
नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो। निर्धारित ओभरमा ओमानलाई विजयका लागि अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो । सन्दीप लामिछानेले २ विकेट लिएपछि खेल अन्तिम बलमा २ रन चाहिने अवस्थामा नेपालले १ रनमात्र दिएपछि स्कोर बराबर भएको थियो।
ओमानबाट ओपनर कश्यप प्रजापती सर्वाधिक ६३ रन बनाए। उनले ५२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे। डेथ ओभर विशेषज्ञ अविनाश बोहराले १७ औं ओभरमा उनलाई आउट गरी नेपाललाई खेलमा फर्काएका थिए ।प्रतिक अथाभाले ७ रनमा आउट भए। उनलाई सोमपाल कामीले एलबीडब्लु आउट गरेका थिए। प्रजापति र अकिब इल्यासले दोस्रो विकेटमा ७ ओभर भित्र ६७ रनको साझेदारी गरे। इल्यासलाई गुल्शन झाले आउट गरे। इल्यासले १९ बल खेली २ चौका र ३ छक्कासहित ३३ रन बनाए।
कप्तान जिसन मक्सुदले २६ रनको महत्वपूर्ण योगदान दिए। उनले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरे। मक्सुदलाई आउट गरी विवेक यादवले ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिए। नासिम खुशी १ रनमा आउट भए। उनलाई करण केसीले आउट गरे। उनी आउट भएपछि आएका मेहरान खानले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरे पनि अर्को बलमा विवेकले सानदार डाइभिङ फरवर्ड क्याच लिएर उनलाई आउट गरे ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । गुल्शन झा र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले ठुलो स्कोर बनाएको थियो।
गुल्शनले त्रिवि क्रिकेट मैदानमा २० बलमै अर्धशतक बनाएका थिए। ट्वान्टी २० अन्तर्राष्ट्रियमा गुल्शनको यो पहिलो अर्धशतक हो । उनले कुल २५ बल खेली ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।नेपाल १० ओभरमा ४ विकेट गुमाई ६० रनमात्र बनाउन सकेको अवस्थामा गुल्शन र कप्तान रोहित पौडेलले ७ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । बिलाल खानको बलमा गुल्शन आउट भएपछि यो साझेदारी टुटेको थियो । रोहितले ३६ बलमा अर्धशतक पुरा गरेका थिए। उनले कुल ३७ बलमा ५२रन बनाउनेक्रममा ५ चौका र २ छक्का प्रहार गरे।
रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरेका थिए, जसमा करणले दुई छक्कासहित १९ रन बनाएका थिए। नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।नेपालको सुरुआत राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए। तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दीप जोरालाई पठाएको थियो। १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे। ओपनर कुशल भुर्तेलले ३१ रन बनाए। उनले २२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे। अफ स्पिनर अकिब इल्यासले भुर्तेल र कुशल मल्ललाई आउट गरि नेपाललाई पूर्ण रुपमा दबाबमा राखेका थिए । बोल्ड हुनु पूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके। विवेक यादवले पनि १ रनमात्र बनाउन सके।