डोटी। जाजरकोट र रुकुम-पश्चिमका भूकम्प प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले दुई लाख सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पबाट प्रभावित भएकाहरुका लागि गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
शनिबार गाउँपालिकाका अध्यक्ष गडसिलाद्वारा विज्ञप्ति जारी गर्दै सो सहयोगको घोषणा गरिएको हो। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।
अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक÷एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ।’