काठमाडौं। भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको छ।
तर घाइतेको संख्या बढिरहेको र सीमित स्वास्थ्यकर्मीले उपचार गर्नुपर्ने भएकाले व्यवस्थापनमा कठिन भएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा रविन खड्काले जानकारी दिए। भूकम्पबाट घाइतेको उपचारमा शुक्रबार रातिदेखि खटिरहेका स्वास्थ्यकर्मीलाई कसरी पालो दिने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए ।
‘प्रभावित क्षेत्रको लागि धेरै भन्दा धेरै स्वास्थ्यकर्मी र उपकरण चाहिने देखिएको छ । यसको लागि हामीले केन्द्र सरकारसँग पनि समन्वय गरिरहेका छौँ’, डा। खड्काले भने ।निर्देशनालयले सुर्खेतबाट शनिबार बिहानै दुई वटा गाडीमा चिकित्सक र उपचार सामग्री पठाएको छ। हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएको प्रहरीको तथ्यांक छ। तर स्थानीय स्तरबाट त्यस भन्दा बढी क्षति भएको विवरणहरु आइरहेका छन् ।
कर्णाली स्वास्थ्य निर्देशनालयका अनुसार डा.खड्काका अनुसार विशेषज्ञ चिकित्सक, चिकित्सक, नर्स गरी ८४ जना स्वास्थ्यकर्मी खटाइएको छ।केन्द्रबाट थप २० जना स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्रमा पठाइएको छ । दैलेख, सुर्खेत, मुगु र डोल्पा लगायतका कम प्रभावित जिल्लाका स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइएको छ। लुम्बिनी र गण्डकी प्रदेशका अस्पतालबाट पनि स्वास्थ्यकर्मी र उपचार सामग्री जाजरकोटतर्फ गएका छन् ।‘दुई वटा जिल्लाका घाइतेलाई तत्कालको लागि स्वास्थ्य सामग्रीहरु पठाएका छौं।
केन्द्रको एक टोली हेलिकप्टरबाट, सुर्खेतको एक टोली हेलिकप्टर र एक टोली स्थलमार्गबाट गइरहेको छ’, डा. खड्काले भने। उनका अनुसार सामान्य खालका घाइतेको उपचार आधारभूत अस्पताल र स्वास्थ्यचौकीमा, मध्यम खालका घाइतेको जिल्ला अस्पतालमा र गम्भीर खालका बिरामीको सुर्खेतस्थित प्रादेशिक अस्पताल र नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्ने तय भएको छ ।अहिलेसम्म गम्भीर घाइते भएका १५ जनाको सुर्खेत प्रादेशिक अस्पतालमा र केहीको भेरी अस्पतालमा उपचार भइरहेको निर्देशनालय प्रमुख डा। खड्काले बताए।