काठमाडौं। अभिनेता मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन्। बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो ।
बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गरे । फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनिषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ।
बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ। सम्मान ग्रहण गरेलगत्तै मनिषाले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै सम्मानित हुन पाउँदा खुसी लागेको बताएकी छन्।उनी लेख्छिन्, ‘म इमरान हुसैनी सांसद र एसियन स्ट्यान्डर्ड न्युजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई बेलायती संसदमा उनीहरुको प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।
म यो भव्य समारोहको बीचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु। फातिमाको कथा आफैंमा अत्यन्तै प्रेरणादायी छ। उनी अझै समृद्ध हुनेछिन्। भगवानले तपाईंलाई आशिष दिनुहुनेछ र म यो सम्मानका लागि आभार व्यक्त गर्छु।’ नेपालमा परिवार र पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाएपछि उनी सम्मान ग्रहणका लागि बेलायत प्रस्थान गरेकी थिइन्।