धनगढी । धनगढी उपमहानगरपालिका–८ मा साढे २८ करोडको लागतमा निर्मित धनगढी सभागृह अलपत्र परेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत सो सभागृहको संरचना निर्माण भएको हो । सरकारी लगानीमा करौड रकम खर्च गरेर निर्माण गरिएको सभागृह अलपत्र परिरहा सरकारी कार्यक्रम भन्ने लाखौ रुपैया खर्च गरी होटल तथा पाटीप्यालेसमा हुदै आएका छन्
राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, २५० जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ । करिब ४ सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । आयोजना कार्यालयका अनुसार बिजुली बत्तीसहित तातो–चिसोका लागि एसी तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य गत वर्ष नै सम्पन्न भएपनि संञ्चालनमा नआउँदा स्थानीय पनि दुखी छन् । सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न यो वर्ष २५ लाख रुपैयाँ विनियोजन समेत गरिएको छ ।
धनगढीमा बनेको सभागृह निर्माण सम्पन्न भएपछि संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सो सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो । तर धनगढी उपमहानगरपालिकाले स्वामित्व लिन नमानेपछि सभागृह अलपत्र परेको छ । धनगढी सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नहुँदा र हल सञ्चालनका लागि चाहिने फर्निचर, साउण्ड सिस्टम, एसी जडानलगायतका कार्य अधुरो रहेको भन्दै उपमहानगरपालिकाले स्वामित्व लिन इन्कार गरेको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जानकारी दिए ।
डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानीमा बनेको सभागृहको निर्माण, रङरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरिसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि अहिले सभागृह अलपत्र छ । धनगढीमा तत्कालिन सयमा ठुल्ला कार्यक्रम गर्ने सभाहलको आवश्यकता भएपछि २०७४ मा निर्वाचत जनप्रतिनिधीले निकै मेहन्त गरेर यो योजना हालन सफल भएका हुन् । अहिले निर्माण सम्पन भएपनि सञ्चालनमा नआउँदा उनिहरु दुखी छन् ।
फर्निचर र साउण्ड सिस्टम नभएको बहानामा एक वर्षदेखि सो सभागृह अलपत्र परेको छ । सो सभागृह सञ्चालन हुन नसकेको कारण सरकारी कार्यक्रम होटल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठुला कार्यक्रमहरु सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्राङ्गणमा टेण्ट लगाएर आयोजना गर्नुपर्ने बाध्यता छ । धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठुला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरूले त्यस्ता कार्यक्रम महँगो भाडा तिरेर पार्टी प्यालेस, होटलमा सञ्चालन गरिरहेका हुन् ।