धनगढी : इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएको छ ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।
न्यौपानेको शव भने गएराति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ । आशिषको शव पनि आइपुग्यो भने चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।