धनगढी। यौन तथा प्रजनन स्वास्थ्य विषयका बारेमा प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कैलालीको धनगढीमा यार्ड नेपालले आयोजना गरेको पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्र संवेदनशील विषय भएकाले सञ्चार माध्यममा यस्ता विषयलाई सरोकारवालाले प्राथमिकता दिन जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै संस्थाका कार्यक्रम निर्देशक महेन्द्र शाहीले यौन तथा प्रजनन शिक्षाका बारेमा जानकारी नहुँदा पनि प्रजनन स्वास्थ्यको अवस्था चिन्ताजनक रहेको बताए। उनले यौन तथा प्रजनन शिक्षाका बारेमा आधारभूत तह देखी नै बालबालिकाहरूलाई जानकारी गराउनु पर्ने बताए। पछिल्लो समय बाल विवाह पनि बढ्दै गएको हुँदा आधारभूत तहदेखी नै किशोर किशोरीलाई भविष्यमा स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत गराउनु आवश्यक रहेको उनको भनाई छ।यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरी(स्माइल) ले सञ्चार माध्यमले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सञ्चार माध्यमबाट जनतालाई छिटो सुसूचित गर्न सकिने बताए । उनले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि पनि सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका चेत राज फुलारा र आशा थापाले कैलालीमा यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष हिमाल जोशीले पत्रकारहरूले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिदै आएको बताए। उनले स्वास्थ्य क्षेत्र गम्भिर विषय भएकाले यसका भएका नीतिगत त्रुटि सुधार र जनतालाई स्वास्थ्य सम्बन्धी सचेत गराउन सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। समाचारका माध्यमबाट पनि यसको बारेमा जानकारी गराउन सकिने हुँदा विभिन्न समयमा पत्रकारलाई तालिमको पनि आवश्यकता रहेको उनको भनाई छ ।कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीकी आशा थापा र परिवार नियोजन संघका प्रतिनिधि चेतराज फुलाराले आफ्नो प्रस्तुति राखेका थिए ।