धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आउँदो फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले कुनै नकुनै लगानी गर्ने प्रतिबद्धता हुने गरी प्रदेश लगानी सम्मेलन आयोजना गरिने बताए। उनले लगानी सम्मेलनले कृषि, उद्योग, विकासको क्षेत्रमा लगानी ल्याउन मद्दत गर्ने निर्णय भएको बताए।
मुख्यमन्त्री शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमीन, पानी, सडक र विद्युत सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए। संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने उनको भनाइ छ।
लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरुलाई सहभागी गराउने निर्णय समेत भएको मुख्यमन्त्री शाहले बताए। उनले लगानी सम्मेलनबाट सुदूरपश्चिम प्रदेशमा लगानी गर्नका सम्मेलनबाटै केही नकेही लगानीको प्रतिबद्धता गर्ने गरी सम्मेलन आयोजना गरिने उल्लेख गरे।
सम्मेलन आयोजनाका लागि थप समिति उपसमितिहरु आवश्यकता बमोजिम गठन गर्दै आयोजनाको तयारी गरिने भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
मुख्यमन्त्री शाहले लगानी सम्मेलन आयोजना गर्न सहकार्य गर्ने स्रोतहरु समेत जुटाइने बताए। प्रदेश सरकारले तीन वर्ष पहिले वित्तीय सम्मेलन आयोजना गरेको थियो