धनगढी। चाडपर्व सुरु भएपछि बिभिन्न कामले भारत गएका सुदुरपश्चिमेलीहरु घर फर्किने क्रम बढेको छ। दशैँ तिहार तथा छठ पर्व मान्न प्रदेशका बिभिन्न नाका प्रयोग गरी घर फर्किनेहरुको सिमानाकामा भिडभाड तथा चहलपहल बढेको हो।
छोटो तथा लामो अवधीको कामका लागी भारत पसेका उनीहरु केही दिनका लागी भएपनी बिदा नै मागेर चाडपर्व मान्न घर फर्किरहेका हुन्। अहिले कैलालीको त्रिनगर भन्सार नाकामा भएर दैनिक १५ सय बढी नागरिक भित्रि रहेको हेल्प डेस्कले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैयाका प्रकाश सिजापति बेरोजगारका कारण १३ वर्षदेखि भारतको दुधियानामा काम गर्दै आएका उनी एक महिनाको छुट्टीमा घर आएका हुन्। सिजापति अहिले दशैँ तिहार मनाउनका लागि घर फर्किरहेको र दशैँ तिहार मनाए लगत्तै फेरी कर्मक्षेत्रमा फर्किने बताउँछन्। यस्तै भारतको हिमाञ्चलबाट दशैँ र तिहार मनाउनका लागि अछामको रामारोशन–६ का कैलाश बिक पनि फर्किएका छन्। उनी तीन महिना अघि मात्रै रोजगारीका लागि हिमाञ्चल पुगेका थिए। उनले भारतबाट आउँदा सिमानाकामा भारतीय प्रहरीले परिचयपत्र माग्ने र चेकजाँचमा कडाई गरेको बताए। कैलाली चुरे गाउँपालिकाका करन साउद रोजगारीको शिलसिलामा भारतको पञ्चाव गएका थिए।रोजगारीका लागी भारत गएको डेढ वर्षपछि उनी अहिले दशैँ मनाउनका लागि घर फर्किएका हुन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का मनिराम चौधरी बर्खामा धान लगाएर रोजगारीका लागि भारतको सिमला स्याउ टिप्न गएका थिए। उनी दुई महिना जति सिमलामा स्याउ टिप्ने काम गरेर दशैँ तिहार मनाउनकै लागि र खेतमा धान पाकिसकेकाले पनी घर फर्किएको बताए। कतीपय भारत गएका सुदुरपश्चिमेलीहरुले भारतबाट आउँदा बसमा यात्रुको चाप र सिमानाकामा प्रहरीको अनाबश्यक चेकीङका कारण समस्या भएको बताएका छन्।आज (बुधबार)मात्रै सुदूरपश्चिमका मुख्य तीन नाका भएर २ हजार १ सय ३२ जना नेपाली स्वदेश फर्किएका हुन्।कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट सुदुरपश्चिमेलीहरु स्वदेश फर्किएका हुन्।