धनगढी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ खुलेका दल ‘विषालु झारपात’ भएको टिप्पणी गरेका छन्। सोमबार धनगढीमा समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले जनताबाट स्थापित दललाई पाखा लगाउने गरी झारपात उम्रिएको बताए ।
विप्लवले नयाँ दलहरूको नाम भने लिएनन्। ‘गणतन्त्र आएपछि नेपालमा केही विषालु झारपात उम्रिएका छन्,जनतालाई दिग्भ्रमति गरेर दिवा सपना देखिरहेका छन्। बर्खाको च्याउसरी नेपालमा झारपात उम्रिँदै छन्, हामीले गोडमेल गर्ने आँट गर्नुपर्छ । साँच्चिकै बिरुवा जोगाउनुपर्छ,’ विप्लवले भने।
कम्युनिस्ट शक्तिहरू कमजोर हुँदा काठमाडौंको सडकमा परिवर्तनविरोधी नारा लाग्न थालेको उनको ठम्याइ छ। मिडियाले पनि माओवादी र कम्युनिस्ट शक्तिहरू विखण्डित भए भन्ने खालको बेप्रवाह प्रचार चलाइरहेको उनको आरोप छ। विप्लवले भने,‘नेपालमा कम्युनिस्टहरू सिद्धिन थालेको हो र ? जसले क्रान्ति गर्यो, ती मान्छेहरू लज्जित हुनुपर्ने ? जालिफटाहाले क्रान्तिकारीलाई हेप्ने ? यो हुन सक्दैन।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सल्लाह नगरी कालापानीमा आएकोमा उनले आपत्ति जनाउँदै उनले भने, ‘भारतमा ठाउँ नपाएर कालापानीमा पूजा गर्न आएका छन्। समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छ, हामीले गर्नुपर्छ, उनले भने।’