धनगढी। हवाई यातायातको भाडा बढाएको भन्दै धनगढी विमानस्थलमा बिरोध तथा नाराबाजी गरिएको छ। दशैंका बेला हवाई भाडामा एयरलाइन्स कम्पनीहरुले हवाई उडानमा मनपरी भाडा बढाएको भन्दै बिरोध तथा नाराबाजी गरिएको हो।
काठमाडौंदेखि सबैभन्दा लामो रुट मानिएको धनगढीमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान छैन। निजी कम्पनीले दशैंका बेला प्रतियात्रु १७ हजार रुपैयाँभन्दा बढी भाडा तोकेका छन्।आईतबार कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरुले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्। उनीहरुले हवाई यातायातमा भाडा बढाएको भन्दै विरोधमा उत्रिएका हुन्।
अरु नियमित समयमा ६ हजार रहेको काठमाडौं–धनगढी उडानको भाडा दशैंका बेला २० हजारसम्म पुर्याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दशैंका बेला झन् छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको कांग्रेसका कार्यकर्ता प्रकाश बहादुर सिँहले बताए ।
यस्तै काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका बसन्तराज जोशीले गत वर्षको दसैंमा १७ हजार ६ सय हवाई भाडा तिरेर लाई यो वर्ष पनि टिकट पाउन सकस भएको बताए ।ठूला विमानस्थलबाट दुर्गम भेगमा पुग्ने यात्रुले थप सास्ती खेप्नु परेको उनको भनाई छ। धनगढीकी निशा पाण्डेले पनि दसैंको टिकट जोहोका लागि एयरलाइन्स धाएकी हुन्। अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि टिकट नपाएर हैरानी खेप्नु परेको उनले बताएकी छिन्।
दसैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो।बुद्ध एयरका अनुसार दसैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ। उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपैयाँ छ। सहुलियत भाडादरको टिकट सकिएपछि अधिकतम भाडादर तिर्नु पर्दा मंहगो पर्न गएको एयरलाइन्स कम्पनीहरुको भनाई छ।