बैतडी। बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडक सुचारु भएको छ। सुख्खा पहिरोको कारण बिहीबारदेखि अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि सुचारु भएको पुरघाट प्रहरीचौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक मोतिसिंह बमले जानकारी दिए ।
पुर्चौंडी नगरपालिका ७ गोफा खोला नजिक सडकमाथिबाट सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको थियो । सडकमा खसेको पहिरो पन्छ्याएपछि शुक्रबार साँझदेखि गाडी आवतजावत हुन थालेको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले जानकारी दिए । पहिरो पन्छ्याउनका लागि नगर प्रमुखसहितको टोली खटिएको थियो । तत्कालका लागि पहिरो पन्छ्याएपनि पहिरोको जोखिम भने कायमै रहेको छ । गोफा खोला नजिक खसेको सुख्खा पहिरो जतिबेला खस्न सक्ने अवस्था रही आएको छ।
चाडपर्वको समयमा सडक अवरुद्ध नहोस भनेर पहिरो खसेकै ठाउँमा मेसिन राखिएको नगर प्रमुख बमले बताए। सडकमाथिबाट सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले सतर्क भएर सवारी साधन सञ्चालन र नागरिकहरुलाई आवतजावत गर्दा ध्यान दिन आग्रह गरिएको प्रहरी नायब निरीक्षक बमले बताए। उनले भने ‘सडकमा अझै पनि सुख्खा पहिरोको जोखिम कायमै छ । त्यसैले सतर्क भएर आवतजावत गर्न हामीले सबैलाई आग्रह गरेका छौं ।’सडक सुचारु भएसंगै सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।