बैतडी। बैतडीमा एकै हाकिम अर्थात् प्रमुख प्रशासकीय अधिकृतलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। जिल्लाको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको हो।
योसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई तीन पालिका हेर्ने जिम्मेवारी दिएको छ। सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत अवस्थीलाई केहीदिन अघिमात्रै सिगास गाउँपालिकाको जिम्मेवारीसमेत तोकिएको थियो।
शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ।
बैतडीका गाउँपालिकाहरुमा भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको २० दिन नपुग्दै सरुवा गरेपछि अहिले पालिकाहरू प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्।सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई सुर्नयासँगै सिगास र डिलाशैनी गाउँपालिकाको थप जिम्मेवारी प्राप्त भएको छ। एकैजनालाई तीनवटा गाउँपालिकाको जिम्मेवारी बहन गर्दा समस्या हुने बताइएको छ।