धनगढी। बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ धनगढी पुगेको छ। बाजुराको स्वामिकार्तिक–खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक स्याउ धनगढीमा पुगाएर बिक्रीबितरण सुरू गरिएको हो।
स्वामीकार्तीक खापर गाँउपालीका र कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा बुधबार(हिजो) धनगढीमा ल्याइएको स्याउ आज बिहीबार बाट बिक्री सुरू गरिएको हो। कुनैपनी मिसावट नभई अर्गानिक उत्पादन भएको स्याउ धनगढी बसपार्क स्थीत टाइगर होटलबाट बिक्री बितरण भैरहेको फ्यूचर स्याउ कृषि समूहका अध्यक्ष धनबहादुर रावलले बताए।
गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुराको ४०/४० प्रतिशत र फ्यूचर स्याउ कृषक समूहको २० प्रतिशत ढुवानी अनुदानमा किसानको स्याउ धनगढी पुगाइएको उनले बताए।उनका अनुसारबाजुरामा ३७० हेक्टरमा स्याउ खेती गरिएको छ। यो वर्ष २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ। यो वर्ष बाजुरामा एक हजार १३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। बाजुरामा प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ।
बाजुराका किसानको स्याउको बजारीकरणमा स्वामीकार्तिक खापर गाउँपालिका,कृषि ज्ञान केन्द्र बाजुरा, जिआइजेटरएलपिइडी र ग्रीप परियोजनाको पनि आर्थिक सहयोग रहेको कृषक समूहका अध्यक्ष रावलले बताए। बाजुराको स्याउ धनगढी ल्याउन कर्णाली प्रदेशको दैलेख, सुर्खेत हुँदै लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएर कैलाली पुग्नु परेको किसान कर्ण रोकायाले बताए। गाउँपालिकासम्म ट्रक चल्ने सडक नभएकाले कर्णाली प्रदेश हुँदै धनगढी पुग्नु परेको छ। स्तरीय सडक नहुँदा ग्रामीण क्षेत्रको कृषि उपजको बजारीकरणमा समस्या भएको उनको भनाई छ।
स्याउसंगै अन्य उत्पादित बस्तुको बजारिकरण गरिनुका साथै प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने उनको माग छ। बिहीबार बिहानबाट नै बाजुराको स्याउको बिक्री सुरु भएको छ।अर्गानिक स्याउको मूल्य प्रति किलोग्राम १३० रुपैयाँ तोकिएको छ। बाजुराको स्याउको बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए। कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेकाले कृषि उपजको उत्पादन र बजारीकरणमा सहयोग रहने उनले प्रतिबद्धता ब्यक्त गरेका छन्।