धनगढी। सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल-३ मा प्रायोजकहरु जोडिने क्रम जारी रहेको छ। यसै बिचमा फर्निचर पार्टनरका रुपमा धनगढी चटकपुर स्थित फर्निचर बिक्रि केन्द्र एम.बि. बिजनेश पनि एसईई आईडल ३मा जोडिएको छ।
एसईई आईडल–३ को आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र एम.बि. बिजनेशका संचालक कपिल जोशीले आज प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् । कला क्षेत्रको प्रबर्द्धन आफ्नो पनि जिम्मेबारी भएकाले यस कार्यक्रममा जोडिएको कुरा संचालक भट्टले बताए । एसईई आईडलको यस संस्करणमा गुरुजि सटिङ एण्ड सुटिङ, समैजी अफसेट प्रेस, होटल डिभोटी पनि प्रायोजकको रुपमा जोडिसकेका छन् ।
एसईई आईडलका सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन्। यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०–५० हजार र रु. २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्। अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ। आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ।