धनगढी। बझाङमा गएको भूकम्पले सुदूरपश्चिममा ७ हजारभन्दा बढी संरचना क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गत हप्ता मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको बताएको छ। घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् । यसै गरी भूकम्पबाट सात हजार १६५ वटा भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रूपमा क्षति भएको छ ।
त्यसै गरी छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ वटा पशुचौपायाको मृत्यु र एउटा घाइते भएको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए। भूकम्पले बाजुरा जिल्लामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ। सो जिल्लामा ६६१ निजी घर पूर्ण रूपमा क्षति भएको छ।
खप्तड छेडेदह गाउँपालिकामा २८६ घर, गौमूलमा २५, त्रिवेणी नगरपालिकामा ११०, बडीमालिकामा ११४ र बुढीगङ्गा नगरपालिकामा १२६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। पाँच हजार ९२ निजी घर र २८ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु भएको बझाङमा १५८ निजी घर र पाँच सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । एक हजार ९८ निजी घर र ३० वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।