काठमाडौँ। विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।
पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको हो । ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन्। यही कसुरमा एक जना नेपालीलाई फरार सूचीमा राखिएको छ। सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ।
भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ। २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ग्राम सुन भेटिएको थियो। भेपका रुपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो।
त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए। महरा बाबुछोराले समेत २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेका थिए। त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरेको थियो। गत असार २७ मुद्दा दायर भएपनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएको छ।