बझाङ। बझाङमा भूकम्पको झट्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते भएका छन्। शनिबार बिहान ११:४५ मा भूकम्प आउँदा घर छाएको स्लेट खसेको र आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन्।
बझाङ मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आज आएको भूकम्पको धक्काले घर छाएको स्लेट खसेर उनी घाइते भएका हुन्। उनको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा – ४ का वडा अध्यक्ष उत्तम जोशीले बताए। उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ ।
बझाङमा शनिबार बिहान ११:४५ बजे भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्प धक्का महशुस भएको थियो भने दिउँसो १२:३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४:३ रेक्टर स्केलको भुकम्प गएको थियो। गत मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यस यता निरुन्तर बझाङमा कम्पन भइरहेको छ । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २१ पुगेको छ ।