धनगढी। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने उद्देश्यका साथ नेपाल र भारतका उच्च अधिकारीको बैठक सुरु भएको छ।
हिजो (शुक्रबार) देखी काठमाडौंमा सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ। आज (शनिवार)सम्म चल्ने बैठकमा भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिसन) का अध्यक्ष कुशविन्दर बोहरा नेतृत्वमा नौ जना प्रतिनिधि सहभागी छन्।
यस्तै, नेपाल–भारत संयुक्त विज्ञ समूहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समग्र पक्षका बारेमा छलफल भैरहेको बताइएको छ। सो परियोजनाको डीपीआर भारतीय कम्पनी वापकोसले तयार पारेको छ। यसअघि विज्ञ समूहको बैठक साउन ५–६ गते भारतको दिल्लीमा बसेको थियो। गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिन द्विपक्षीय छलफललाई तीब्रता दिने सहमति भएको थियो।
डीपीआरमा सहमति भएपछि पञ्चेश्वर विकास प्राधिकरणले अन्तिम डीपीआर दुवै सरकारलाई बुझाउने सहमतिसमेत भएको थियो।दुवै सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाउन दुवै देश सहमत भएका छन्। भारतीय परामर्शदाता कम्पनी वाकपोसले २०७३ सालमा डीपीआर बुझाएको थियो। त्यो डीपीआरमा पानी बाँडफाँट लगायतका विषयमा दुई देशबिच सहमति नभएको कारण पास हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला डीपीआरमा देखिएको विवाद तीन महिनाभित्र टुङ्गो लगाउने सहमति भएपछि विवाद समाधान भएको छैन । विवाद समाधानका लागि बनेको विज्ञ समूहको यो दोस्रो बैठक हो।
नेपालमा आजदेखि सुरु भएको बैठकले विवाद समाधान गर्ने विश्वास लिइएको मन्त्रालयका एक अधिकारीले बताए। प्रधानमन्त्री प्रचण्डले पनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो कार्यान्वयनमा आउनुपर्ने जोड दिँदै आएका छन् । त्यस आयोजनाका लागि नेपालको तर्फबाट जति चासो लिए पनि भारतले त्यति चासो नदेखाएको ती अधिकारीले दाबी गरे। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सकिने बित्तिकै असार २१ र २२ गते पञ्चेश्वर बहुउद्देश्यीय गभर्निङ बडीको बैठक पोखरामा बसेको थियो। सो बैठकले डीपीआरलाई अन्तिम रूप दिन र त्यसको सो प्रतिवेदनको कार्यान्वयनमा सघाउ पु¥याउन गठित विज्ञ समूहको म्याद ६ महिना थपिएको थियो । म्याद थप गरेपछि साउनमा विज्ञ समूहको बैठक दिल्लीमा बसेको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि पञ्चेश्वर आयोजनाको कामले गति लिने बिश्वास लिइएको छ।