बैतडी। बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् ।प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ ।
भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ ।स्थानीय सरकार गठन भएसँगै नागरिकको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका नाममा प्रहरी कार्यालय ९चौकी० माग गर्नेको चाप बढ्दो छ । सोही माग अनुसार बैतडीका विभिन्न पाँच ठाउँमा अस्थायी प्रहरी चौकीसमेत खडा गरिएका छन् ।
पुर्चौडी नगरपालिकाको न्वादेउ र भटनामा दुई वर्षअघि खुसियाली मनाएर उद्घाटन गरिएको अस्थायी प्रहरी चौकीको जीर्ण भवन भूकम्पले हल्लाइदिँदा नागरिकलाई शान्तिसुरक्षा दिने प्रहरी कर्मचारी नै त्रसित बनेर बस्न बाध्य छन् ।अस्थायी प्रहरी चौकी स्थापना हुँदा स्थानीय जनप्रतिनिधिले खुसियाली नै मनाएका थिए तर प्रहरीका लागि भवन निर्माण गर्न सहयोग जुटाउन नसकेको भनाइ स्थानीयको छ । सिगास, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका केन्द्रमा पनि अस्थायी प्रहरी कार्यालय स्थापना भएका छन् ।
शान्तिसुरक्षाका लागि स्थानीय सरकारलाई प्रहरी चाहिने भए पनि बस्ने घर असुरक्षित हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । ज्यानको माया मारेर नागरिक सेवामा प्रहरी दौडिनुपर्ने अवस्था छ उनले भने, “चौकीसँग सवारीसाधनसमेत नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । अधिकांश अस्थायी प्रहरी चौकीमा राम्रोसँग सुत्नलाई कोठा नहुँदा सेवाग्राहीको अपेक्षा अनुसार प्रहरीले सेवा दिन नसकेको गुनासो स्थानीयको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत २४ स्थायी प्रहरी चौकी, पाँच अस्थायी, एक इलाका प्रहरी कार्यालय र एक सीमा प्रहरी चौकी गरी ३२ वटा युनिट रहेका छन्। दुई लाख ४४ हजार चार सय जनसङ्ख्या रहेको यस जिल्लाको पश्चिमी भूभागले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चप्पावत जिल्लाको सीमालाई छोएको छ । नेपालतर्फ पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला र दक्षिणमा डडेलधुरा जिल्ला छ । पश्चिमी सीमानाका झुलाघाटबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकसँगै भारतीय नागरिकको समेत आवागमन हुने गरेको छ । सुरक्षाका दृष्टिकोणले भने यस जिल्लामा प्रहरीको सक्रियता बढी नै आवश्यक देखिन्छ । जनसङ्ख्याको चाप र भूगोल अनुसार मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकामा रहेको प्रहरी चौकी ‘क’ श्रेणीमा राख्नुपर्ने माग भए पनि भवन निर्माणको योजना र प्रहरी चौकीको स्तरवृद्धि हुन सकेको छैन । गोरखापत्रबाट