बझाङ। बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आएका छन् । ।आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उहाँ बेलाबेला भारत पनि जाने गर्छन्।
भारतका विभिन्न सहरमा मजदुरी गरेर छोराछोरीलाई पढाइ र घरायसी खर्चको जोहो गर्दैगर्दा अघिल्लो वर्ष कात्तिकमा गाउँमा भूकम्प गयो र उनको घर चर्कियो ।त्यसपछि उनी घर फर्किए र चर्किएको घर टालटुल गरेर बस्न थाले । अघिल्लो वर्षको भूकम्पको पीडा बिर्सन नपाउँदै गएको मङ्गलवारको ठूलो भूकम्पले उनको घर भत्कियो । अहिले उहाँसहित ४ छोराछोरी श्रीमतीको त्रिपालमुनिको बास भएको छ ।
लुहारले भने, ‘गाउँ–गाउँबाट आरनको काम गरेर जम्मा गरेको अन्नपानी (खाद्यान्न), लत्ताकपडा घर भित्रै च्यापियो । अहिले एक छाकको जोहो गर्न पनि धौ–धौ छ । बाहिर खुल्ला आकाश मुनिको बास छ । छोराछोरीको चिन्ता एकतर्फ छ भने रातिको समयमा के बिच्छ्याउने रु के ओढ्ने ? साह्रै समस्या भएको छ ।’ अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उनको गुनासो छ।
थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उनको पनि खुल्ला आकाश मुनिको बास छ । उहाँलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उनका ससुरा नरबहादुर थापा भन्छन्, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’ बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको उनले बताए ।
थलारा गाउँपालिका–९ आमबरकी एकल महिला मुलुदेवी दमाईको पनि उस्तै समस्या छ । भएको सानो झुपडी भूकम्पले भत्काएपछि उनलाई कसरी रात बिताउने भन्ने चिन्ताले पिरोलेको छ । ुघरमा कोही पनि छैन । सम्पत्तिको नाममा एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा सङ्कलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफूले पाए तत्काललाई ठूलो राहत हुन्थ्यो’ उनले भने ।
यस्तै सिरेटाका हिरा शार्कीको पनि अवस्था उस्तै छ । उनको घरमा उहाँसहित श्रीमती र तीनजना छोराछोरी छन् । भारतका विभिन्न सहरमा मजदुरी गरेर जीविका चलाउँदै आएका हिरा घर आएको ५ महिना मात्रै भयो । भूकम्पले घर पूरै भत्काएपछि उहाँसहित छिमेकीहरु खुला चौरमा बस्न बाध्य छन् । उनी भन्छन्, ‘छोरी १४/१५ वर्षकी भइन् । शौच गर्नका लागि शौचालय पनि भत्किएको छ । खुला ठाउँमा रातिको समयमा डर हुन्छ । हामी पुरुषभन्दा पनि मेरो छोरी जस्तै अरुका छोरीबुहारीलाई बढी समस्या छ ।’ भूकम्पपछि एकरात पनि राम्रोसँग सुत्न नपाएको उनले गुनासो गरे ।
शुक्रवार प्रधानमन्त्रीसहित मन्त्रीहरु आए पनि राहत नआएको पीडितहरुको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुका समस्या राख्न चाहे पनि नपाएको पीडितहरुको भनाइ छ । पीडितहरुका अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेर फर्किएका छन् । थलारा वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्रबहादुर विष्टका अनुसार गाउँमा १ सय ३० वटा घर पूर्णरुपमा भत्किएको छ । २ सय ७५ वटा घर उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेन्द्र चौधरीले भूकम्पबाट सबैभन्दा धेरै क्षति थलारा गाउँपालिकामा भएको बताए । उनका अनुसार थलारा गाउँपालिकामा ६७ वटा घर भत्केको र १२ वटा घर चर्किएको छ ।
यस्तै, जयपृथ्वी नगरपालिकामा २९ वटा घर भत्किएको र ४८ वटा घर चर्किएको छ । बुङ्गल नगरपालिकामा २ वटा घर भत्किएको छ भने २ वटा घर चर्किएको छ । यस्तै, विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छ । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा ४ वटा घर भत्किएको छ । छविसपाथिभेरामा ७ वटा घर भत्किएको र ४० वटा घर चर्किएको छ । खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएको छ भने ४० वटा घर चर्किएको छ । मष्टामा ३ वटा घरमा पूर्ण क्षति, ५ वटा घर भत्किएको र एउटा घर चर्किएको छ भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्किएको र ३ वटा घर चर्किएको छ। उज्यालो अनलाइनबाट