बझाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन्। शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री बझाङ पुगेका हुन्।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन्।बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ।
नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन्। उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए।प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए।
त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन्। टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख,मुख्यमन्त्री कमल बहादुर शाहलगायत रहेका छन्। प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।