बैतडी। बैतडीका स्थानीय तहमा हालै खटाइएका नयाँ हाकिमहरू धमाधम सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ५ गते यहाँका पाँच स्थानीय तहमा एकैपटक नयाँ कार्यकारी खटाएको थियो । तर, स्थानीय तहमा हाजिर हुन नपाउदै धमाधम सरुवा भइरहेका छन् ।
सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा असोज १ गते हाजिर हुनुभएका कृष्णप्रसाद घिमिरे सरुवा भएका छन्। उनीलाई मन्त्रालयले नुवाकोटको लिखु गाउँपालिका सरुवा गरेको हो ।यसैगरी, जिल्लाको शिवनाथ गाउँपालिकामा पनि हालै हाजिर हुनुभएका सुशीलकुमार साह सरुवा भएका छन् । उनीलाई कहाँ खटाइएको छ भन्ने खुलाइएको छैन।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले सरुवा भएको अनौपाचारिक जानकारी आएको बताए ।पञ्चेश्वर गाउँपालिकामा आउने भनिएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उज्जल आनन्द गाउँपालिकामा हाजिर हुन नपाउदै सरुवा भएका छन् । गाउँपालिकामा हाजिर हुन आउने तयारीमा रहेका प्रमुख प्रशासकीय अधिकृत आनन्द यहाँ पुग्न नपाउँदै सरुवा हुनुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिए ।
‘उहाँ आउने भन्ने थियो, यहाँ हाजिर हुन नपाउँदै सरुवा भइसके,’ उनले भने ।डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेल पनि हाजिर भएको आठ दिनमै सरुवा भएका हुन् । उनी यही असोज ८ गते पालिकामा हाजिर भएका थिए । उनको पनि मंगलबार सरुवा भएर गएका छन् ।मन्त्रालयले भदौ ५ गते जिल्लाको सिगास गाउँपालिकामा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकामा सुशीलकुमार साह, पञ्चेश्वर गाउँपालिकामा उज्जल आनन्द, डिलासैनी गाउँपालिकामा रंजय पटेललाई कार्यकारीको रूपमा खटाएको थियो।
दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारूलाई नयाँ हाकिमको रूपमा खटाएको हो ।दोगडाकेदार गाउँपालिकामा रहनुभएका थारूबाहेक नयाँ हाकिमको रूपमा आएका सबैको सरुवा भएको छ । यसरी हाजिर हुन नपाउँदै सरुवा भएपछि कार्यसम्पादनमा समस्या सिर्जना भएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् ।